काठमाडौं,२० साउन । वैदेशिक रोजगार विभागले आफ्नो स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने थप ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
विभागले मंगलबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ विपरीत विदेशी विमानस्थल प्रयोग गरेको पुष्टि भएपछि ती कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको हो।
ऐनको दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वदेशी विमानस्थलमार्फत मात्रै पठाउनुपर्ने व्यवस्था छ। सो व्यवस्थाको कार्यान्वयन अवस्था बुझ्न विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ सम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण म्यानपावर कम्पनीहरूसँग माग गरेको थियो।
अनुगमनका क्रममा विवरण नपेस गर्ने तथा विभागको अनुमति बिना विदेशी विमानस्थल प्रयोग गर्ने गरी कुल ५९८ म्यानपावर कम्पनी कारबाहीको दायरामा परेका छन्। यसअघि विवरण नबुझाएका कम्पनीलाई पुनः विवरण पेश गर्न निर्देशन दिइएको थियो।
सो निर्देशनपछि विवरण पेश गरे पनि विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पुष्टि भएका ३९ कम्पनीलाई जरिबाना गरिएको विभागले जनाएको छ।
यस्तै, दुई पटकसम्म पनि मागिएको विवरण पेश नगर्ने १२४ वटा म्यानपावर कम्पनीलाई पनि ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
विभागका अनुसार कारबाहीमा परेका ३९ कम्पनीले वैदेशिक रोजगार ऐनको दफा ५४ बमोजिम दोस्रो पटक पनि कसुर दोहोर्याएको ठहर गर्दै उनीहरूलाई जरिबाना गरिएको हो।




