काठमाडौं,२० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साताभित्र प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले साउन २५ देखि ३० गतेभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर र सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी घिमिरेका अनुसार सत्ता साझेदार दलहरूबीचको आन्तरिक छलफल र केही सांसद देशबाहिर रहेकाले मिति केही पर सरे पनि विश्वासको मत साउनकै अन्तिम साताभित्र लिइनेछ।
नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व एमालेकै हातमा रहने तय भएको छ। तर, मन्त्री बन्ने आकांक्षीको संख्या धेरै भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लाग्ने देखिएको छ।
यही कारण मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि नै विश्वासको मत लिने निर्णय गरेका हुन्।
हाल सत्ता साझेदार दलहरूबीच मन्त्रालयको बाँडफाँट, मन्त्रीहरूको टुंगो तथा केन्द्रको निर्देशनलाई ध्यानमा राखेर आन्तरिक छलफल भइरहेको छ। सरकार स्रोतका अनुसार विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिनेछ।




