spot_img

नेपाल र दक्षिण कोरिया सहकार्य थप विस्तार गर्न परराष्ट्रमन्त्री खनालको आग्रह

spot_img
spot_img

काठमाडौं,२० साउन । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका प्राथमिकता र आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तार गर्दै व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई सहकार्यको प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए। उनले ऊर्जा र उत्पादन क्षेत्रसँगै अन्य सम्भावनायुक्त क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री खनालले शिक्षा क्षेत्रमा अनुसन्धानमूलक संस्थाबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई देशबीचको सफल सहकार्यको उदाहरण भएको बताए। उनका अनुसार ईपीएसले श्रम सहकार्य मात्र नभई दुई देशका नागरिकबीचको सम्बन्धलाई पनि थप मजबुत बनाएको छ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत पार्कको योगदानको प्रशंसा गर्दै मन्त्री खनालले नेपाल–दक्षिण कोरिया सम्बन्ध सुदृढ बनाउन उनले खेलेको भूमिकाको सराहना गरे।

जवाफमा राजदूत पार्कले नेपालमा बिताएको समय आफ्नो लागि अविस्मरणीय रहेको उल्लेख गर्दै जहाँ रहे पनि नेपाललाई सधैं सम्झिरहने बताए। उनले नेपालको सांस्कृतिक विविधता र नेपाली जनताको आत्मीयताको पनि प्रशंसा गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय