वीरगन्ज,२० साउन । बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका आफ्नै सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीले उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र. ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा–९ बेथहनीका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनापछि प्रहरीले खोजी गर्ने क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा थारुको शव फेला पारेको थियो।
अनुसन्धानका क्रममा दुर्घटनापछि जीवित रहेका थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरमा प्रयोग हुने सटरिङको काठ, मोटरसाइकलको चाबी र मृतकले लगाएको मालाको प्रयोग गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यापछि शव सिँचाइ नालामा फालेर चालक फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। प्रहरीले गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




