spot_img

वीरगन्जमा सडक विस्तार अभियान अन्तिम चरणमा, ८५ संरचना भत्काउन बाँकी

spot_img
spot_img

वीरगन्ज,२० साउन । वीरगन्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तारका लागि सडक सीमाभित्र परेका संरचना हटाउने अभियान पुनः तीव्र पारिएको छ। केही दिन रोकिएको घर तथा भवन भत्काउने काम सोमबारदेखि माईस्थान क्षेत्रबाट पुनः सुरु भएको हो।

गहवामाईको रथयात्रा, अत्यधिक गर्मी तथा वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाका कारण अभियान अस्थायी रूपमा रोकिएको थियो। सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार सोमबार दिउँसो १ बजेदेखि संरचना हटाउने काम सुरु गरिएको हो।

सोमबार मात्रै माईस्थान क्षेत्रमा साना–ठूला गरी करिब एक दर्जन घर भत्काइएको उनले जानकारी दिए। हालसम्म सडक सीमाभित्र परेका अधिकांश संरचना हटाइसकिएको र अब करिब ८५ वटा घर तथा भवन भत्काउन बाँकी रहेको उनको भनाइ छ।

अब ठूला संरचना हटाउनुपर्ने भएकाले उपलब्ध स्रोत–साधन पर्याप्त नभएको फोकल पर्सन प्रसादले बताए। आवश्यक वैकल्पिक उपकरणको व्यवस्था गरी बाँकी संरचना सकेसम्म छिटो हटाउने तयारी भइरहेको उनले जानकारी दिए।

घण्टाघर क्षेत्रमा रहेको डाबर नेपालको भवनसमेत भत्काउने योजनामा रहेको उनले बताए। तर सोही क्षेत्रमा रहेको नेपाली सेनाको कम्पाउण्ड वाल र भवनलाई भने तत्काल नहटाइने स्पष्ट पारिएको छ।

सडक विभागले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रका करिब १ हजार २ सय घर तथा भवनमा डोजर चलाएको थियो। त्यस क्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो।

सडक सीमाभित्र परेका संरचना सम्बन्धित पक्षले २५ दिनभित्र स्वयं हटाउन विभागले आग्रह गरेको थियो। तोकिएको समयसीमामा धेरै संरचना नहटाइएपछि विभागले करिब दुई साताअघि दोस्रो चरणको अभियान सुरु गरेको हो।

दोस्रो चरणमा बाँकी रहेका संरचना हटाउने कामलाई तीव्रता दिइएको सडक विभागले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय