वीरगन्ज,२० साउन । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८२/८३ मा ९ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले लिएको ११ अर्ब ६५ करोड रुपैयाँको लक्ष्यको तुलनामा यो करिब ८० प्रतिशत मात्र हो।
कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत पप्पुकुमार गुप्ताका अनुसार लक्ष्यभन्दा २ अर्ब ३३ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ४५ करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा त्यसको तुलनामा १३ करोड रुपैयाँ कमी आएको छ।
राजस्वका प्रमुख शीर्षकमध्ये आयकरतर्फ सबैभन्दा कमजोर प्रगति देखिएको छ। आयकरबाट ४ अर्ब ३४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब ५१ करोड रुपैयाँ मात्र उठेको छ। यो लक्ष्यको करिब ५८ प्रतिशत हो।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २ अर्ब ५० करोड रुपैयाँको लक्ष्य रहेकामा २ अर्ब २१ करोड रुपैयाँ सङ्कलन भएको छ। भ्याटतर्फ लक्ष्यको करिब ८८ प्रतिशत राजस्व उठेको कार्यालयले जनाएको छ।
अन्तःशुल्कतर्फ भने कार्यालय लक्ष्यको नजिक पुगेको छ। ४ अर्ब ८० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ४ अर्ब ५९ करोड रुपैयाँ उठेको छ। यो लक्ष्यको करिब ९६ प्रतिशत हो।
राजस्व सङ्कलनमा लक्ष्य पूरा हुन नसके पनि करदाता दर्ता विस्तारमा भने प्रगति भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा २ हजार ५५३ नयाँ व्यापारिक स्थायी लेखा नम्बर (प्यान) र १५ हजार ५११ व्यक्तिगत प्यान वितरण गरिएको छ।
हालसम्म कार्यालयमा आयकरतर्फ ४४ हजार ९२१, भ्याटतर्फ १२ हजार १८३ र अन्तःशुल्कतर्फ १ हजार ९९२ करदाता दर्ता भएका छन्।
कार्यालयका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, आयकर सङ्कलनमा देखिएको कमी तथा समग्र आर्थिक चुनौतीका कारण अपेक्षाअनुसार राजस्व उठ्न सकेको हो।
आगामी आर्थिक वर्षमा कर प्रशासनलाई थप प्रभावकारी बनाउने, करदाताको दायरा विस्तार गर्ने र स्वेच्छिक कर सहभागिता बढाउने कार्यक्रमलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।




