काठमाडौं,२० साउन । काठमाडौं जिल्ला अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी रकम नबुझाएपछि कांग्रेस नेता अभिषेक गिरी कारागार चलान भएका छन्। अदालतले साउन १५ गते गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, निर्धारित धरौटी रकम नबुझाएपछि उनलाई डिल्लीबजार कारागार पठाइएको हो।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गिरी यसअघि मोरङ कारागारका कैदीबन्दीबाट असुली गरेको घटनामा हाजिर जमानीमा छुटेका थिए। त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पुनः पक्राउ गरी काठमाडौं ल्याएको थियो।
सीआईबीले श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठलाई ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा गिरीविरुद्ध अनुसन्धान गरी मुद्दा दायर गरेको छ।
प्रहरी अनुसन्धानअनुसार गिरीले आफ्नो पहुँच प्रयोग गरी सरकारी ठेक्का मिलाइदिने आश्वासन दिएका थिए। त्यसपछि श्रेष्ठ कन्स्ट्रक्सनले पाएको ठेक्का आफ्नै कम्पनीमार्फत सम्पन्न गर्ने भन्दै जिम्मा लिए पनि काम नगरी कम्पनीलाई आर्थिक क्षति पुर्याएको आरोप छ।
यसअघि पनि गिरी अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा दोषी ठहर भई नौ वर्ष जेल सजाय भोगेका थिए। उनी २०७९ चैत ५ गते कारागारबाट रिहा भएका थिए।




