spot_img

भारतमा पक्राउ परेका दुई नेपाली किसानलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

spot_img
spot_img

काठमाडौं, २० साउन । भारतबाट मल खरिद गरेर फर्कने क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसानलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो।

सह–विशेष न्यायाधीश अखलेश कुमार झाको एकल इजलासले बुधबार उक्त आदेश दिएको किसानका कानुन व्यवसायी संजयकुमार झा र किरण चौधरीले जानकारी दिएका छन्।

सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि भारतका आधार कार्ड भएका दुई जना साक्षी आवश्यक पर्ने भएकाले दुवै जना बिहीबार मात्रै रिहा हुनेछन्।

सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई गत १७ असारमा भारतको सीतामढी जिल्लास्थित सोनबर्षाबाट डिएपी र युरिया मल खरिद गरेर फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट उनीहरू जेल चलान भएका थिए।

उनीहरूको रिहाइको माग गर्दै दायर गरिएको निवेदनमाथि १५ साउनमै सुनुवाइ हुने तय भए पनि सम्बन्धित न्यायाधीश बिदामा रहेकाले सुनुवाइ बुधबार मात्रै भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय