काठमाडौं,२० साउन । राष्ट्रिय परिचयपत्रको आवेदन दर्तादेखि परिचयपत्र नम्बर वितरणसम्मका सेवा एक महिनादेखि ठप्प हुँदा हजारौं सेवाग्राही प्रभावित भएका छन्। प्रणालीमा आएको प्राविधिक समस्याका कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सेवा अवरुद्ध भएको हो।
विभागका निर्देशक नीराजन श्रेष्ठका अनुसार असार मध्यदेखि सफ्टवेयरमा समस्या देखिएपछि नयाँ आवेदन लिने, परिचयपत्र नम्बर उपलब्ध गराउने तथा सम्बन्धित सेवा सञ्चालन हुन सकेको छैन। यसले राहदानी, सामाजिक सुरक्षा भत्ता तथा अन्य सरकारी सेवा लिनुपर्ने सेवाग्राहीलाई बढी असर परेको छ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका सेवामध्ये विशेषगरी राहदानी बनाउन जाने नागरिकले बढी सास्ती भोग्नुपरेको छ। इपिएसमार्फत वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका सेवाग्राहीले पनि राहदानी प्रक्रियामा ढिलाइ भएको गुनासो गरेका छन्।
समस्या बढ्दै गएपछि विभागले विभिन्न सरकारी निकायलाई राष्ट्रिय परिचयपत्रबिना नै सेवा उपलब्ध गराउन अनुरोध गरेको छ। राहदानी विभागमा भने प्रमाणीकरणका लागि छुट्टै डेस्क स्थापना गरी आवश्यक प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ।
निर्देशक श्रेष्ठका अनुसार राष्ट्रिय परिचयपत्र प्रणाली सञ्चालनका लागि फ्रान्सेली कम्पनीसँग भएको सम्झौता दुई वर्षअघि सकिएपछि नेपाल सरकारले आफ्नै व्यवस्थापनमा प्रणाली सञ्चालन गर्दै आएको थियो। तर, नयाँ कम्पनीसँग सम्झौता हुन नसक्दा सफ्टवेयरमा आएको समस्या समाधान गर्न कठिनाइ भएको हो।
हाल राष्ट्रिय परिचयपत्र छपाइको काम पनि दुई वर्षदेखि रोकिएको छ। पछिल्लो एक महिनायता नयाँ आवेदन दर्ता र परिचयपत्र नम्बर वितरणसमेत पूर्ण रूपमा बन्द भएपछि सेवाग्राही थप समस्यामा परेका छन्।
विभागका अनुसार हालसम्म करिब ४० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ भने दुई करोडभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिसकिएको छ।




