जनकपुर,२१ साउन । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ मुद्दा फर्स्योट गरेको छ। सो अवधिमा अदालतमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो आर्थिक वर्षबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार गत आर्थिक वर्षमा कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा टुंग्याइएको हो। हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अदालतले पाँच हजार ७०१ मुद्दा फर्स्योट गरेको थियो। त्यसबेला पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए भने चार हजार १७९ मुद्दा अघिल्लो वर्षबाट सरेर आएका थिए। कुल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दा फर्स्योट भएको अदालतले जनाएको छ।
यसैबीच, अदालतले स्वचालित पेसी प्रणाली लागू गरेपछि न्याय सम्पादन प्रक्रिया थप छिटो, व्यवस्थित र पारदर्शी बनेको जनाएको छ। सूचना अधिकारी महतोका अनुसार नयाँ प्रणालीले पेसी व्यवस्थापनलाई सहज बनाएको, मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावकारी बनाएको तथा सेवाप्रवाहमा उल्लेखनीय सुधार ल्याएको छ।
अदालत प्रशासनले आगामी दिनमा न्याय सम्पादनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ।




