चितवन,२१ साउन । झण्डै सात वर्षदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेपछि यात्रुहरूले सहज र छिटो यात्रा गर्न थालेका छन्। अहिले नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा लाग्ने गरेको छ भने निजी सवारीसाधनले करिब डेढ घण्टामै यात्रा पूरा गर्न थालेका छन्।
यसअघि दाउन्ने क्षेत्रमा हुने जाम, वर्षायामको अवरोध र सडकको खराब अवस्थाका कारण यात्रुले घण्टौँदेखि रातभरसम्म सडकमै बिताउनुपर्ने अवस्था थियो। अहिले भने सडक फराकिलो र स्तरीय बनेसँगै यात्रा निकै सहज भएको यात्रुहरूको अनुभव छ।
व्यवसायी, सर्वसाधारण तथा यातायात व्यवसायीहरूले विगतको पीडादायी यात्रा अब विगत बनेको बताएका छन्। उनीहरूका अनुसार पहिले १०–१२ घण्टा लाग्ने यात्रा अहिले दुईदेखि तीन घण्टाभित्रै सम्पन्न हुन थालेको छ, जसले समय र इन्धन दुवैको बचत गरेको छ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको करिब ९२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। अब सडक सुरक्षासम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिए।
११३.३५ किलोमिटर लामो यो सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेनमा स्तरोन्नति गरिएको छ। आयोजना करिब १६ अर्ब ९९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हो, जसमा एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।
२०७५ चैत ८ गतेदेखि निर्माण सुरु भएको यस आयोजनाको जिम्मा चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले पाएको हो। प्रारम्भिक लक्ष्यभन्दा ढिलो भए पनि सडक विस्तार अन्तिम चरणमा पुगेपछि पूर्व–पश्चिम यात्रा गर्ने यात्रुहरूले उल्लेखनीय राहत महसुस गर्न थालेका छन्।




