spot_img

मदिरा सेवन गरेर ट्याङ्कर चलाउँदा वीरगञ्जमा दुर्घटना, ९ यात्रु घाइते

spot_img
spot_img

वीरगञ्ज,२१ साउन –  पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोक नजिक हुलाकी सडकमा भारतीय नम्बर प्लेटको ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा नौ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा संलग्न ट्याङ्करका चालकलाई प्रहरीले फरार भएको केही समयमै पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ गइरहेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट तीव्र गतिमा आएको आरजे १४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करपछि चालक ट्याङ्करसहित घटनास्थलबाट फरार भए पनि प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरी ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

दुर्घटनामा ई–रिक्सामा सवार नौ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। सबै घाइतेको उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गरिएको छ।

पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको साहेबगञ्ज निवासी ४८ वर्षीय धनेश्वर राय रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गरेको स्वास्थ्य परीक्षणमा चालकले अत्यधिक मदिरा सेवन गरेको पुष्टि भएको छ। मदिराको प्रभावमा सवारी चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साले चालक र ट्याङ्करलाई नियन्त्रणमा राखी सवारी ज्यान तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय