काठमाडौं, २१ साउन – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीहरूको संशोधित तलबमान, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता निर्धारण गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलब संरचना कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो।
नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ। मुख्य सचिवको आधारभूत तलब ८४ हजार ९३२ रुपैयाँ रहनेछ भने दुई ग्रेड थपिएपछि कुल तलब उक्त रकम पुग्नेछ। नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिवसरह निर्धारण गरिएको छ।
यस्तै, विशिष्ट श्रेणी (सचिव) को कुल मासिक तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ। सेवा निवृत्त हुने सचिवहरूले पेन्सनबापत मासिक ६६ हजार ५३९ रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, स्वास्थ्य सेवाका बाह्रौं तहका अधिकृत तथा संघीय संसद् सेवाका सचिवको तलबसमेत निजामती सेवाका सचिवसरह कायम गरिएको छ।
अर्थ मन्त्रालयले निजामती कर्मचारीसँगै स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, स्थानीय तह, संघीय संसद् सेवा तथा अन्य सरकारी सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलब, ग्रेड र भत्ता सम्बन्धी व्यवस्था पनि लागू गरेको जनाएको छ। सम्बन्धित सबै निकायलाई सोहीअनुसार तलब भुक्तानी गर्न निर्देशनसमेत दिइएको छ।




