काठमाडौं,२१ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा–घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले स्वास्थ्य बीमा नागरिकको मौलिक स्वास्थ्य अधिकारसँग जोडिएको कार्यक्रम भएकाले यसलाई व्यापारिक दृष्टिकोणबाट हेर्न नहुने बताए। सरकारले स्वास्थ्य बीमाको लागत र प्रतिफललाई आधार बनाएर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउनु उचित नहुने उनको भनाइ छ।
सरकारका केही जिम्मेवार व्यक्तिले ‘३ हजार ५ सय रुपैयाँ शुल्क लिएर १ लाख रुपैयाँसम्मको सेवा कसरी दिन सकिन्छ?’ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै पौडेलले राज्यले नागरिकको जीवनलाई नाफा–घाटाको तराजुमा जोख्न नमिल्ने बताए। राज्यले सेवा र सहुलियतलाई ब्यालेन्स सिटको आधारमा मूल्यांकन गर्न थाले राज्य र व्यापारीबीचको भिन्नता नै समाप्त हुने उनको तर्क छ।
पौडेलले पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारका उच्च अधिकारी र समर्थकहरूको नकारात्मक धारणा देखिएको भन्दै त्यसले लाखौँ नागरिकको स्वास्थ्य सुरक्षामाथि असर पार्न सक्ने चेतावनी दिए।
आफू स्वास्थ्यमन्त्री रहेका बेला स्वास्थ्य बीमा कार्यक्रम सुधार र विस्तारका लागि सेवा दायरा बढाउने, सबै स्थानीय तहमा सेवा उपलब्ध गराउने, बीमितले आफू बसेकै स्थानबाट सेवा लिन सक्ने व्यवस्था मिलाउने, दाबी भुक्तानी प्रणाली सुधार गर्ने तथा सेवा प्रदायक संस्थालाई थप प्रभावकारी बनाउनेलगायतका सुधारका काम अघि बढाइएको उनले स्मरण गरे।
उनले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार औपचारिक क्षेत्रका सबै कर्मचारीलाई अनिवार्य रूपमा बीमामा आबद्ध गर्ने, रोजगारदाता र कर्मचारीबाट समान योगदान सुनिश्चित गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुमा लगाइएको करको निश्चित हिस्सा स्वास्थ्य बीमा कोषमा लैजाने तथा प्रदेश र स्थानीय तहलाई साझेदार बनाउने प्रस्ताव पनि अघि सारिएको बताए।
ती नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके स्वास्थ्य बीमाको वित्तीय संकट समाधान हुने उनको दाबी छ। साथै, प्रशासनिक संरचना सुधार, स्थानीय तहमा स्वास्थ्य बीमा शाखा स्थापना, सेवा प्याकेज पुनरावलोकन, औषधि तथा सेवाको वैज्ञानिक मूल्य निर्धारण र प्रविधिमा आधारित दाबी परीक्षण प्रणाली विकासको काम पनि अघि बढाइएको उनले उल्लेख गरे।
डा. शम्भु आचार्य नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन गरे स्वास्थ्य बीमा कार्यक्रमका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्दै पौडेलले विश्वव्यापी अभ्यासअनुसार यस्ता कार्यक्रम निरन्तर सुधार गर्दै लैजानुपर्ने बताए। जर्मनीमा करिब डेढ सय वर्षदेखि स्वास्थ्य बीमा प्रणाली निरन्तर परिमार्जन हुँदै आएको उदाहरण दिँदै नेपालले छोटो अवधिमै यसको औचित्यमाथि प्रश्न उठाउनु उचित नहुने उनको धारणा छ।
आफू मन्त्री हुँदा सबै सुधारका काम पूरा गर्न नसकेको स्वीकार गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्जीवन दिन आवश्यक आधार तयार पारिएको दाबी गरे। अहिले बलियो सरकार भएकाले विगतमा सुरु गरिएका सुधारलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिएका छन्।




