काठमाडौं,२१ साउन । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै जनरल सेठ नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनलाई नेपाल–भारतबीचको सैन्य परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथी (जनरल) को प्रतिष्ठित दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
गत असार १५ गते (जुन ३०) भारतीय सेनाको ३१औँ प्रमुखको जिम्मेवारी सम्हालेका जनरल सेठको यो पहिलो नेपाल भ्रमण हुनेछ।
उनको भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन सैन्य सहकार्य, आपसी विश्वास तथा मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




