जनकपुर,२१ साउन । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बिहीबार दिउँसो १२ बजे गरिएको मापनअनुसार नदीको बहाव प्रतिसेकेन्ड २ लाख ९ हजार ५१० क्युसेक पुगेको छ।
पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ। कोसी ब्यारेजमा बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था रहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार बढ्दो बहावलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ।
प्रहरी प्रशासनले कोसी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।




