spot_img

लालबकैयाको बाढीले हुलाकी राजमार्ग डुबायो, जोखिमपूर्ण यात्रा नगर्न आग्रह

spot_img
spot_img

रौतहट,२१ साउन । लगातारको वर्षापछि रौतहटको राजपुर नगरपालिका क्षेत्रमा बगेको लालबकैया खोलामा पानीको बहाव बढ्दा हुलाकी राजमार्गको एक खण्ड डुबानमा परेको छ। सडकमाथिबाट बाढी बगेपछि आवतजावत प्रभावित हुनुका साथै यात्रु र सवारी चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

राजपुर नगरपालिका–२ फतुवा महेशपुरदेखि राजपुरतर्फ जाने हुलाकी राजमार्गअन्तर्गत लालबकैया नदीको पश्चिम लच्कामा बाढीको पानी सडकमाथिबाट बग्न थालेपछि यातायात प्रभावित भएको हो। वैकल्पिक मार्गको अभावका कारण स्थानीयवासी र सवारी चालक जोखिमपूर्ण अवस्थामै सोही सडक प्रयोग गर्न बाध्य छन्।

दैनिक सयौँ सवारीसाधन र यात्रुले प्रयोग गर्ने हुलाकी राजमार्गको यो खण्ड वर्षायाममा हरेक वर्ष डुबानमा पर्ने गरेको स्थानीयले बताएका छन्। बाढीको बहाव बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको उनीहरूको भनाइ छ।

डुबान प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार सुरक्षाकर्मीले घटनास्थलमा निरन्तर निगरानी गर्नुका साथै यात्रुको सुरक्षित आवतजावतमा सहजीकरण गरिरहेका छन्।

उनले बाढीको बहाव अझ बढेमा जनधनको सुरक्षा मध्यनजर गर्दै उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने बताए। सशस्त्र प्रहरीले सर्वसाधारणलाई डुबान भएको सडक पार गर्ने जोखिमपूर्ण प्रयास नगर्न र सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

निरन्तर वर्षा भइरहेकाले लालबकैया खोलाको जलस्तर अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले नदी आसपासका बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय