spot_img

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

spot_img
spot_img

काठमाडौं,२१ साउन । देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव र कालोबजारीविरुद्ध सर्वसाधारणलाई सक्रिय रूपमा उजुरी गर्न आग्रह गरेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले बिहीबार सूचना जारी गर्दै बजारमा ग्यासको अभाव, कृत्रिम रूपमा आपूर्ति रोकिएको वा कालोबजारी भएको जानकारी पाएमा मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरेर सूचना दिन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार उपभोक्ताबाट प्राप्त गुनासो र सूचनालाई गम्भीरतापूर्वक लिइनेछ। प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

पछिल्ला करिब २० दिनदेखि एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा देशका विभिन्न स्थानमा उपभोक्ता ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्। धेरै स्थानमा ग्यास डिपोमा लामो लाइन लागे पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था देखिएको छ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा ग्यास बिक्री गरेको गुनासो बढ्न थालेपछि मन्त्रालयले उपभोक्ताबाट सिधै सूचना संकलन गर्ने व्यवस्था मिलाएको हो।

मन्त्रालयले ग्यास आपूर्तिसम्बन्धी अनियमितता देखिएमा ढाकछोप नगरी तत्काल जानकारी गराउन आग्रह गर्दै बजारलाई सहज र व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय