बीरगन्ज,२१ साउन । बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाराले कलैयास्थित ग्यास पसलहरूमा छड्के अनुगमन गरेको छ। नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा खटिएको अनुगमन टोलीले कलैयाका न्यु शिवशक्ति स्टोर्स, सोना ग्यास स्टोर्स र अस्मिता स्टोर्समा स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा न्यु शिवशक्ति स्टोर्सले ग्यास सिलिन्डर पल्टी गरेर खुद्रा बिक्री गरिरहेको भेटिएको प्रशासनले जनाएको छ। त्यसैगरी, सोना ग्यास स्टोर्सले बिक्रीका लागि राख्नुपर्ने ग्यास सिलिन्डर पसलमा नराखी निजी घरमा भण्डारण गरेको पाइएपछि प्रशासनले सिलिन्डर पसलमै राखी पारदर्शी रूपमा बिक्री–वितरण गर्न निर्देशनसहित चेतावनी दिएको छ।
यता, अस्मिता स्टोर्समा भने कुनै अनियमितता वा कैफियत नपाइएको अनुगमन टोलीले जनाएको छ।
पछिल्लो समय ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा उपभोक्तालाई सास्ती दिने गतिविधिबारे गुनासो बढेपछि प्रशासनले बजार अनुगमनलाई कडा बनाएको हो। यसअघि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ग्यासको सहज आपूर्ति र न्यायोचित वितरण सुनिश्चित गर्न उत्पादक, वितरक तथा डिलरहरूका लागि ९ बुँदे निर्देशन जारी गरेका थिए।
जिल्ला प्रशासन कार्यालय बाराले उपभोक्ता अधिकार संरक्षण र बजारमा हुने अनियमितता नियन्त्रणका लागि यस्ता छड्के अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। साथै, ग्याससम्बन्धी कुनै समस्या वा गुनासो भए सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५५०४५४०३ मा सम्पर्क गर्न वा ९८५५००७७७८ नम्बरको ह्वाट्सएपमा सन्देश पठाउन प्रशासनले अनुरोध गरेको छ।




