काठमाडौं,२० साउन । राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङ र सांसदबीच निर्मला पन्त हत्या प्रकरणलाई लिएर प्रश्न–जवाफका क्रममा तीखा भनाइ आदान–प्रदान भएको छ। गृहमन्त्री गुरुङले संसदमा उक्त विषयमा बारम्बार प्रश्न नउठाउन आग्रह गरेपछि प्रश्नकर्ता सांसदले आफ्नो विधायकी अधिकारमाथि हस्तक्षेप भएको बताएका छन्।
प्रश्नोत्तर कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लामो समय बित्दासमेत दोषी पत्ता लाग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। उनले राज्यको असक्षमता वा उदासीनताका कारण पीडित परिवारले अझै न्याय नपाएको हो कि भन्ने प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले सरकारले शान्ति सुरक्षा र अपराध अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले निर्मला पन्त प्रकरण संवेदनशील विषय भएकाले अनुसन्धान जारी रहेको उल्लेख गर्दै यसलाई राजनीतिक बहसको विषय नबनाउन आग्रह गरे।
गृहमन्त्रीले सांसद विश्वकर्मालाई प्रतिप्रश्न गर्दै, विगतमा उहाँहरूको नेतृत्वमा सरकार हुँदा किन यस विषयमा निष्कर्ष निकाल्न नसकिएको भन्दै प्रश्न उठाए। साथै, बारम्बार संसदमा यो विषय उठाउँदा पीडित परिवारको घाउ बल्झिने तर्क गर्दै संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरे।
उनले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै संसदमा यो विषय दोहोर्याएर नउठाउन सबै सांसदसँग अनुरोध गरे। कुनै जिज्ञासा वा सुझाव भए आफूलाई व्यक्तिगत रूपमा भेटेर सोध्न सकिने र आवश्यक जानकारी दिन तयार रहेको पनि उनले बताए।
गृहमन्त्रीको अभिव्यक्तिपछि सांसद विश्वकर्माले आफ्नो प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने अधिकार संसदीय व्यवस्थाको आधारभूत अभ्यास भएको उल्लेख गर्दै गृहमन्त्रीको भनाइले आफ्नो विधायकी अधिकारमाथि हस्तक्षेप भएको महसुस गरेको बताए।
त्यसपछि उनले पूरक प्रश्न गर्दै निर्मला पन्त प्रकरणमा कहिलेसम्म न्याय सुनिश्चित हुन्छ भन्ने समयसीमा माग गरे। तर गृहमन्त्री गुरुङले त्यस प्रश्नको जवाफ दिन अस्वीकार गर्दै, “म यसको उत्तर दिन चाहन्नँ,” भनेका थिए। यस घटनापछि राष्ट्रिय सभामा सांसदको प्रश्न गर्ने अधिकार, मन्त्रीको जवाफदेहिता र संवेदनशील विषयमाथिको संसदीय छलफललाई लिएर बहस सुरु भएको छ।




