काठमाडौं,२१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका भए पनि साउन २९ गतेअघि नै नेपाल फर्किने भएका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उहाँ साउन २९ अगावै स्वदेश फर्किने तयारीमा हुनुहुन्छ। यद्यपि, फर्किने निश्चित मिति भने अझै तय भएको छैन।
देउवा पक्षीय नेताहरूले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका छन्। उक्त भेलामा सहभागी हुनका लागि पनि देउवा निर्धारित समयभन्दा अघि नेपाल आउने सम्भावना रहेको स्रोतले जनाएको छ।
हाल हङकङमा उपचाररत देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। कांग्रेसभित्रको आगामी राजनीतिक रणनीति र संगठनात्मक गतिविधिसँग जोडेर हेरिएको राष्ट्रिय भेलामा देउवाको उपस्थितिलाई महत्त्वपूर्ण मानिएको छ।




