काठमाडौं,२१ साउन । प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले देशभर पालिका तहमा निर्माण गर्ने लक्ष्य राखिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै निराशाजनक रहेको बताएकी छन्।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती तथा भावी कार्ययोजनाबारे भएको छलफलमा बोल्दै उनले सरकारले निर्माण गर्ने भनेका आधारभूत अस्पतालमध्ये हालसम्म केवल १७ प्रतिशत मात्रै सम्पन्न भएको तथ्यांक सार्वजनिक भएको उल्लेख गरिन्।
उनले निर्माण सम्पन्न भएका अस्पतालमध्ये पनि कति अस्पताल सरकारले निर्धारण गरेको मापदण्डअनुसार पूर्ण रूपमा सञ्चालनमा छन् भन्ने स्पष्ट विवरण सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। ५ शय्या र १५ शय्याका आधारभूत अस्पताल निर्माणको घोषणा भएको वर्षौं बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसक्नु दुःखद भएको उनको भनाइ थियो।
सांसद कार्कीले निर्माण सम्पन्न भनिएका अस्पतालहरूको वास्तविक सञ्चालन अवस्था र सेवा प्रभावकारिताबारे अनुगमन गरी तथ्यांक सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन्।
जनस्वास्थ्यमा लगानी गर्न सरकारले कुनै पनि हालतमा कञ्जुस्याइँ गर्न नहुने उल्लेख गर्दै उनले स्वस्थ नागरिक नै विकासको पहिलो आधार भएको बताइन्। भौतिक र मानसिक रूपमा स्वस्थ नागरिकले मात्र राष्ट्रको समृद्धि र विकासमा प्रभावकारी योगदान दिन सक्ने उनको धारणा थियो।




