बीरगन्ज,२१ साउन । बजारमा एलपी ग्यासको आपूर्ति तथा वितरणबारे उपभोक्ताबाट गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले उत्पादक, वितरक तथा डिलरहरूलाई ग्यासको सहज आपूर्ति, सुरक्षित वितरण र कृत्रिम अभाव रोक्न विभिन्न निर्देशन जारी गरेको छ।
प्रशासनले नेपाल सरकारले निर्धारण गरेको परिमाण, गुणस्तर तथा मापदण्डअनुसार मात्र एलपी ग्यास उपभोक्तासम्म पुर्याउनुपर्ने स्पष्ट गरेको छ। साथै, सरकारले तोकेको खुद्रा मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण गर्न नपाइने चेतावनी पनि दिएको छ।
जारी निर्देशनअनुसार ग्यास सिलिन्डरको भण्डारण र वितरण गर्दा सबै सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। सुरक्षित तथा मापदण्डअनुसारका सिलिन्डर मात्र बिक्री गर्नुपर्ने र प्रत्येक खरिदकर्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, खाली सिलिन्डर साटासाट गर्दा नयाँ सिलिन्डर उपलब्ध गराउनुपर्ने, ग्यास सिलिन्डरको आगमन, मौज्दात र बिक्री–वितरणको अभिलेख नियमित रूपमा अद्यावधिक राख्नुपर्ने तथा प्रशासनले मागेमा सो विवरण उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको छ।
प्रशासनले एक कम्पनीको सिलिन्डरबाट अर्को कम्पनीको सिलिन्डरमा ग्यास भरेर बिक्री गर्ने जस्ता गैरकानुनी तथा जोखिमपूर्ण गतिविधि नगर्न पनि सचेत गराएको छ। साथै, बजार अनुगमनका क्रममा सम्बन्धित निकायबाट दिइने निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
निर्देशन उल्लङ्घन गरी कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अन्य गैरकानुनी गतिविधिमा संलग्न भएको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ।
साथै, एलपी ग्यासको कालोबजारी, कृत्रिम अभाव वा अनियमिततासम्बन्धी जानकारी भए जिल्ला प्रशासन कार्यालय बाराको गुनासो नम्बर वा ह्वाट्सएपमार्फत सूचना दिन प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।




