काठमाडाै,२१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट प्रहरीले ६४७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय ट्रक चालक उमेश थिङ र धनकुटाको सहिदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय सहचालक तुलराम राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा शंका लागेपछि चेकजाँच गरिएको थियो। सो क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरेर राखिएका ४८ वटा पोकामा लुकाइएको ६४७ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




