काठमाडौं,२१ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएको निर्णयले यसको वैधानिकता र तथ्य थप स्पष्ट हुने बताएका छन्।
बिहीबार सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी आफ्नो अघिल्लो फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएपछि प्रतिक्रिया दिँदै शर्माले लामो न्यायिक बहसपछि विषयको निरूपण भइसकेको भए पनि पुनः परीक्षणले कानुनी र राजनीतिक पक्ष अझ प्रष्ट पार्ने विश्वास व्यक्त गरेका हुन्।
उनले पुनरावलोकन प्रक्रियाले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनीतिक सत्य’ थप फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्ने उल्लेख गर्दै अदालतमा आवश्यक सबै तथ्य र प्रमाण प्रस्तुत गर्न आफूहरू तयार रहेको बताए।
विशेष महाधिवेशनसम्बन्धी यसअघिको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो। त्यतिबेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट भने खारेज भएको थियो।
उक्त फैसलामाथि पुनरावलोकनको माग गर्दै पूर्वसभापति देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सर्वोच्चले बिहीबार पुनरावलोकनको अनुमति दिएको हो।




