काठमाडौं,२१ साउन । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले ३३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार जारी गरेको पत्रअनुसार सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयका आधारमा सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम सरुवा गरिएको हो।
सरुवामा सशस्त्र प्रहरी सेवा, साधारण समूह तथा साधारण उपसमूहअन्तर्गतका एसपीहरूलाई विभिन्न कार्यालयमा काज तथा सरुवा गरिएको छ। उनीहरूले सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब, भत्ता र रासन सुविधा पाउने जनाइएको छ।
प्रधान कार्यालयका अनुसार सरुवा आगामी २०८३ साल भदौ १ गतेदेखि कार्यान्वयन हुनेछ। सरुवासम्बन्धी विवरण अभिलेख किताबमा अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौर तथा सम्बन्धित कार्यालयहरूलाई आवश्यक जानकारी गराइएको सशस्त्र प्रहरीले जनाएको छ।




