रौतहट,२२ साउन । रौतहटको यमुनामाई गाउँपालिका–५ मा घर नजिकै खेल्न गएका ६ वर्षीय बालक अर्को दिन बिहान नहरमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय सरमुला मियाका छोरा खुसी आलम बिहीबार दिउँसो करिब ३:३० बजे साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ रहेको सडकछेउको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए। साँझ अन्य बालबालिका घर फर्किए पनि खुसी घर नफर्किएपछि परिवारले आफन्त र स्थानीयवासीको सहयोगमा खोजी गरेको थियो।
शुक्रबार बिहान परिवारले अस्थायी प्रहरी पोस्ट बमनहरमा बालक हराएको जानकारी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा बिहान करिब ९:५५ बजे यमुनामाई–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ रहेको नहरमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
बालकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




