काठमाडौं,२२ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने भएका छन्। नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने संस्थापन इतर समूहको भेलामा सहभागी हुनेछन्।
भेलाको तयारीका लागि प्रतिवेदन लेखनको काम भइरहेको जानकारी दिँदै महतले देउवाको सहभागिताले पार्टीभित्रको संवादलाई थप गति दिने विश्वास व्यक्त गरे। उनका अनुसार भेलामा देशभरबाट धेरै नेताकार्यकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र नेतृत्व विवाद अझै समाधान हुन सकेको छैन। देउवा पक्षले गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई स्वीकार गरेको छैन। यता गगन थापाको नेतृत्वले नियमित १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला संस्थापन इतर समूह भने अझै पूर्ण रूपमा एकजुट हुन सकेको छैन।
पार्टी विभाजनको आशंकाबारे सञ्चारकर्मीसँग कुरा गर्दै महतले पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहेको बताए। उनले देउवा स्वदेश फर्किएपछि सबै पक्षबीच थप छलफल हुने उल्लेख गर्दै गगन पक्ष पनि सहमतिका लागि लचिलो हुनुपर्ने धारणा राखे।
देउवा गत फागुन १३ गते उपचारका लागि विदेश गएका थिए। त्यसयता उनी नेपाल फर्किएका थिएनन्। यसपटक भने उनी पत्नी आरजु राणासहित स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।




