काठमाडौं,२२ साउन । सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता र डिपोमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार सूचना जारी गर्दै कालोबजारी, ग्यास लुकाइछिपाइ बिक्री गर्ने र उपभोक्तामाथि अतिरिक्त मूल्य असुल्ने कार्य कानुनविपरीत भएकाले दोषीमाथि प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने जनाएको हो।
पछिल्लो समय बजारमा ग्यास सहज रूपमा नपाएको उपभोक्ताको गुनासो बढ्दै गएको तथा केही विक्रेता र डिपोले ग्यास आफ्ना निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई प्राथमिकता दिँदै बढी मूल्यमा बिक्री गरिरहेको उजुरी प्राप्त भएपछि विभागले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
विभागका अनुसार खाना पकाउने एलपी ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले उपभोक्ताले तोकिएको मूल्यमा सहज रूपमा प्राप्त गर्न पाउनु उनीहरूको अधिकार हो। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने कार्य सह्य नहुने विभागको भनाइ छ।
यस्ता गतिविधि देखे, जानकारी पाए वा आफू ठगिएको महसुस भए नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल–फ्री नम्बर ११३७ मा उजुरी गर्न विभागले उपभोक्तासँग आग्रह गरेको छ। विभागले हाल ७.१ किलोका सिलिन्डरको सट्टा १४.२ किलोका सिलिन्डर वितरण गर्ने प्रक्रियाका कारण केही समय वितरण प्रणालीमा सामान्य असहजता देखिएको पनि स्पष्ट पारेको छ।




