spot_img

इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह

spot_img
spot_img

काठमाडौं,२२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनरत इन्टर्न चिकित्सकका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।

आन्दोलनका क्रममा एक इन्टर्न चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर भई वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको उल्लेख गर्दै उनले सरकारलाई ढिलाइ नगरी वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरिन्।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद ओलीले एमबीबीएस र बीडीएसका इन्टर्न चिकित्सकहरूले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा निर्धारण तथा चिकित्सकसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको बताइन्। यी मागहरू जायज भएकाले स्वास्थ्य मन्त्रालयले तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

उनले माइतीघर मण्डलामा धर्नामा बसेका मिटरब्याज पीडित, सवारी दुर्घटनाका पीडितलगायत विभिन्न समूहका नागरिकका समस्या समाधानमा पनि सरकारले गम्भीरता देखाउनुपर्ने आवश्यकता औंल्याइन्।
एलपीजी ग्यासको अभाव र मूल्यवृद्धिको समस्या समाधानका लागि विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिँदै उनले विद्युतीय चुलोमा भन्सार छुट तथा विद्युत् महसुलमा लाग्ने भ्याट र अन्य कर हटाउन आग्रह गरिन्।

त्यसैगरी, राइड सेयरिङ सेवामा हाल लागू गरिएको ७ प्रतिशत कर पुनरावलोकन गरी हटाउनुपर्ने माग गर्दै उनले स्वदेशमै स्वरोजगार बनेका युवामाथि थप आर्थिक भार नथोपर्न सरकारलाई सुझाव दिइन्।

सांसद ओलीले १६ देशका लागि रिक्त राजदूत पदको आवेदन र छनोट प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरिन्। साथै, प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादित अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउनुपर्ने आफ्नो अडान पनि पुनः दोहोर्‍याइन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय