काठमाडाै,२२ साउन । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका कम्तीमा १०० पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने तयारी थालेको जनाएको छ। पार्टीका सभापति गगनकुमार थापाले समावेशी नेतृत्व निर्माणलाई प्राथमिकतामा राख्दै यस्तो योजना अघि बढाइएको बताएका हुन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई अझ समावेशी बनाउने र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार पार्टीले उम्मेदवार चयनमा मात्र होइन, निर्वाचित भएपछि प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने नेतृत्व तयार पार्न पनि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ। उनले स्थानीय तहका मेयर, उपमेयर र वडा अध्यक्षका आकांक्षीहरूलाई कानुन, सार्वजनिक नीति, सार्वजनिक वित्त तथा सीमित स्रोत–साधनको प्रभावकारी व्यवस्थापनबारे आधारभूत ज्ञान प्रदान गरिने बताए।
थापाले आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय र प्रदेश तहमा नेतृत्व लिन सक्ने सक्षम तथा इच्छुक व्यक्तिहरूको पहिचान गरी पार्टीको अभियानमा जोड्न आग्रह गरे। संगठनबाट सिफारिस भएका योग्य व्यक्तिहरूकै आधारमा आगामी निर्वाचनका लागि सक्षम उम्मेदवार छनोट गरिने उनको भनाइ थियो।
कांग्रेसले आगामी निर्वाचनमा समावेशी प्रतिनिधित्व र सक्षम नेतृत्व विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाउने संकेत दिएको छ।




