काठमाडाै,२२ साउन । काठमाडौंमा शनिबार सात राजनीतिक दलले संयुक्त रूपमा नयाँ राजनीतिक गठबन्धन ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन्। विभिन्न राजनीतिक मुद्दामा साझा धारणा र सहकार्यका लागि मोर्चा गठन गर्न लागिएको जनाइएको छ।
मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी रहनेछन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम साउन २३ गते शनिबार दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजना हुनेछ।
कार्यक्रममार्फत मोर्चाको उद्देश्य, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत जानकारी सार्वजनिक गरिने नेताहरूले बताएका छन्। नयाँ मोर्चाले साझा राजनीतिक एजेन्डा अघि बढाउँदै विभिन्न दलबीच सहकार्यलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।




