वीरगन्ज,२२ साउन । सरकार र मिटरब्याज पीडित पक्षबीच भएको ९ बुँदे सहमति तथा त्यसका आधारमा मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गर्दै साहु–महाजनहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
पीडित लेनदेन संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारको निर्णय आफूहरूको हितविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले सम्बन्धित सबै पक्षसँग पर्याप्त छलफल नगरी सरकारले एकपक्षीय रूपमा निर्णय गरेको आरोपसमेत लगाएका छन्।
मधेस प्रदेशका आठवटै जिल्लाबाट जनकपुर पुगेका प्रदर्शनकारीहरूले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत धनुषा अगाडि पुगेर विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘कानुनी राज्य बहाल गर’ लगायतका नारासमेत लगाएका थिए।
समितिका मधेस प्रदेश अध्यक्ष विजय यादवले सरकारले आफ्ना मागलाई बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए। उनका अनुसार माग सम्बोधन नभए भदौ १ गतेदेखि काठमाडौंमा सिंहदरबार घेराउ र माइतीघर मण्डलामा धर्ना कार्यक्रम सञ्चालन गरिनेछ।
प्रदर्शनकारीहरूले लेनदेनसम्बन्धी विवादको स्थायी समाधानका लागि सरकार, मिटरब्याज पीडित र साहु–महाजन पक्षबीच त्रिपक्षीय वार्ता गर्न पनि माग गरेका छन्। उनीहरूले सबै सरोकारवालाको सहभागितामा संवादमार्फत समाधान खोजिए मात्र दीर्घकालीन निकास सम्भव हुने बताएका छन्।




