काठमाडौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतप्रति आफूलाई शङ्का नभए पनि कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
‘सरकारको निष्ठा र नियतमाथि प्रश्न छैन, तर काम गर्ने ढङ्गमा सुधार आवश्यक छ,’ उनले भने। उनले गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले विकास र सिकाइ दुवैलाई रोक्ने बताए।
सांसद झाले शिक्षित समाजबाट मात्रै स्वस्थ राजनीति, लोकतन्त्र, सामाजिक सन्तुलन र न्यायको आधार निर्माण हुने उल्लेख गरे।
उनले मधेसका समस्या अझै समाधान हुन नसकेको भन्दै सरकारलाई त्यसतर्फ गम्भीर हुन आग्रह गरे। सीमा क्षेत्रमा गरिब नागरिकमाथि कडाइ हुने तर एयरपोर्टबाट धनी वर्ग सहज रूपमा सामान भित्र्याउन पाउने अवस्थालाई उनले विभेदपूर्ण व्यवहारको संज्ञा दिए।
अर्थतन्त्र सुदृढ बनाउन मधेस, प्रवासी नेपाली र निजी क्षेत्रलाई साझेदार बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी आकर्षित गर्न नागरिकता, भिसा तथा लगानीसम्बन्धी नीतिमा आवश्यक लचकता अपनाउनुपर्ने धारणा राखे।
निजी क्षेत्र त्रसित बनेको उल्लेख गर्दै उनले व्यवसायीहरूले प्रहरीलाई सुरक्षा दिने निकायका रूपमा होइन, छापा र धरपकडको त्रासका रूपमा हेर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।




