spot_img

‘मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध भएर अघि बढ्ने बेला हो’ : लिङदेन

spot_img
spot_img

काठमाडौं,२३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र तथा व्यवसायीहरू असुरक्षित र आतंकित अवस्थामा रहेको दाबी गरेका छन्।

शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउनेदेखि आफ्ना सन्तानको सुरक्षित भविष्यको सपना बोकेर मेहनत गरिरहेका नागरिक अहिले सबैभन्दा बढी असुरक्षित बनेको बताए।

हालै सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिकसमेत निराश र आतंकित बनेको उनको दाबी छ। मुलुकमा महँगी बढ्दै गएको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्रसमेत निराश अवस्थामा रहेको उनले बताए।

लिङदेनले नेपाल गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको दाबी गर्दै यस विषयमा खुलेर आफ्नो धारणा राख्ने राजनीतिक शक्ति कमजोर देखिएको बताए।

उनले भने, ‘मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ। कसैले बोल्न सकिरहेका छैनन्। जनता र देशका लागि हामी छौँ भनेर भन्न सक्ने कुनै राजनीतिक शक्ति देखिएको छैन।’

देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न राप्रपा बलियो बन्नुपर्नेमा जोड दिँदै लिङदेनले पार्टीले नयाँ सोच, शैली र दृष्टिकोणका साथ जनतामाझ पुग्नुपर्ने बताए।

राप्रपाले अघि सारेको राजनीतिक विचार र बाटो समयक्रममा सही साबित हुँदै गएको दाबी गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

‘यस्तो बेला मैदानबाट भाग्ने होइन, मैदान छाडेर लुक्ने होइन। सबै एकताबद्ध भएर अगाडि बढ्ने समय हो,’ लिङदेनले भने। उनले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै जनताका मुद्दामा सक्रिय रूपमा अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय