जनकपुर, २३ साउन । सरकारले लगानीकर्तामाथि विभेदपूर्ण व्यवहार गरेको र उनीहरूको लगानी तथा बचत सुरक्षित गर्न प्रभावकारी पहल नगरेको आरोप लगाउँदै लगानीकर्ता पीडित संघर्ष समिति, मधेस प्रदेशले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।
समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी लगानीकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरूको बचत तथा लगानी फिर्ताको सुनिश्चितता गर्न ठोस पहल गर्न माग गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारले विभिन्न क्षेत्रका लगानीकर्ताप्रति विभेदपूर्ण नीति अपनाएको, पीडितहरूको समस्या समाधानमा उदासीनता देखाएको तथा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी कदम नचालेको आरोप लगाए।
समितिका प्रतिनिधिहरूले प्रदर्शनका क्रममा लाखौँ रुपैयाँ लगानी गरेका सर्वसाधारण आर्थिक समस्यामा परेको भन्दै सरकारले उनीहरूको रकम फिर्ता हुने सुनिश्चितता गर्नुपर्ने बताएका छन्। उनीहरूले लगानीकर्तालाई समस्यामा पार्ने व्यक्ति तथा संस्थामाथि छानबिन गरी कानुनी कारबाही गर्न र पीडितहरूको अधिकार संरक्षण गर्न माग गरे।
समितिले पीडित लगानीकर्ताको समस्या तत्काल समाधान गर्न, रकम फिर्ताका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
आफ्ना मागप्रति सरकार गम्भीर नबने आन्दोलनलाई थप सशक्त बनाउँदै चरणबद्ध रूपमा देशव्यापी अभियान सञ्चालन गर्ने समितिले चेतावनी दिएको छ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कायम गर्न सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।




