काठमाडौं,२३ साउन । मधेसमा भएको दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको परीक्षा भदौ १५ गते सञ्चालन हुने भएको छ।
डीनको कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार गत साउन १५ गते सञ्चालनका लागि तय गरिएको एमबीएस कार्यक्रमअन्तर्गत ‘बजार व्यवस्थापन’ विषयको परीक्षा केही परीक्षा केन्द्रमा स्थगित भएको थियो। स्थगित परीक्षा भदौ १५ गते बिहान ११ः३० बजे पूर्वनिर्धारित केन्द्रमै सञ्चालन गरिने भएको हो।
परीक्षाका लागि जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीको सर्लाही क्याम्पस मलंगवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीलाई केन्द्र तोकिएको छ।
त्यस्तै, सिराहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र जे.एस. मुरारका बहुमुखी क्याम्पस लहान, सप्तरीको महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस राजविराज र नेसनल पिपुल कलेज कञ्चनपुरमा पनि परीक्षा सञ्चालन हुनेछ।
रौतहटमा जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर र गौरीशङ्कर यादव रौतहट क्याम्पस गौर तथा बाराको सिमरा कलेज र पर्साको ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जलाई पनि परीक्षा केन्द्र तोकिएको छ।
परीक्षा नियन्त्रण महाशाखाले सम्बन्धित सबै विद्यार्थीलाई तोकिएको मिति, समय र परीक्षा केन्द्रमा समयमै उपस्थित हुन आग्रह गरेको छ।




