spot_img

देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ, आर्थिक रूपमा देश जर्जर भयो : उपेन्द्र यादव

spot_img
spot_img

काठमाडौं,२३ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता र राष्ट्रिय हितमा खतरा उत्पन्न भएको दाबी गरेका छन्।

शनिबार आठ दल सम्मिलित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै यादवले देशको स्वाधीनता र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न मोर्चा गठन गरिएको बताए।

उनले देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि उत्पीडित तथा विभेदमा परेका समुदायले अझै न्याय र अधिकार प्राप्त गर्न नसकेको बताए। उनीहरूको अधिकार सुनिश्चित गर्न अग्रगामी मोर्चाले संघर्ष गर्ने उनको भनाइ थियो।

देशमा सर्वसत्तावाद बढ्दै गएको दाबी गर्दै यादवले त्यसले अन्ततः अधिनायकवाद जन्माउने चेतावनी दिए। जनताले लामो संघर्षबाट प्राप्त गरेका राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको भन्दै उनले ती उपलब्धिको रक्षा गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको बताए।

यादवले वर्तमान संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए। देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार अन्त्य नभएको र अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको टिप्पणी थियो।

‘देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ, आर्थिक रूपमा देश जर्जर भयो,’ यादवले भने।

अग्रगामी परिवर्तनका लागि जनता जागिसकेको दाबी गर्दै यादवले जनताको बलमा मोर्चा गठन भएको बताए। सरकारले जनताको आवाज र परिवर्तनको अभियानलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ। सबै समुदाय र वर्गका लागि अग्रगामी परिवर्तन सुनिश्चित नभए मोर्चाले संघर्ष जारी राख्ने उनले चेतावनी दिए।

आगामी दिनमा अन्य परिवर्तनकामी संगठन पनि मोर्चामा सहभागी हुने यादवले बताए। विभेदमा परेका सबै समुदायलाई साझा मोर्चामा जोडिने बताउँदै उनले मोर्चाबाट कोही पनि आतंकित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

जनताको अधिकार र राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको उनको भनाइ थियो। साथै, यादवले सरकारले सबै राजबन्दीलाई तत्काल रिहा गर्नुपर्ने माग पनि गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय