spot_img

धनुषामा मल अभाव घट्दै, नियमित कोटाको मल वितरण सुरु

spot_img
spot_img

जनकपुर,२३ साउन । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ। धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला धनुषा र महोत्तरीमा डिएपी तथा युरिया मल वितरण थालिएको हो।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साउन ११ गते गरेको निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए।

उनका अनुसार वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै स्थानीय तहको सिफारिसका आधारमा जिल्लाका विभिन्न स्थानमा वितरण सुरु गरिएको हो।

मल वितरण सुरु भएसँगै केही समयदेखि देखिएको अभाव क्रमशः कम हुँदै गएको साहले बताए। साउनको दोस्रो सातामा थप डिएपी र युरिया प्राप्त भएपछि मल आपूर्ति सहज भएको उनको भनाइ छ।

हाल कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाममा २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको उनले जानकारी दिए।

सुनसरी र सिराहामा भएका घटनापछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञाका कारण केही दिन मल ढुवानी प्रभावित भएको थियो। त्यसका कारण केही समस्या देखिए पनि अहिले पुनः ढुवानी नियमित हुन थालेपछि मलको आपूर्ति सहज हुँदै गएको साहले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय