spot_img

‘सरकारको विरोध मात्रै होइन, देश बनाउन सहयोग गर्न मोर्चामा आएका हौँ’ : रेशम चौधरी

spot_img
spot_img

काठमाडौं,२३ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले वर्तमान सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन्।

शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै चौधरीले निर्वाचनअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने तथा देशलाई नयाँ ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको दाबी गरे।

उनले सरकार नागरिकमाथि विभिन्न शीर्षकमा करको भार थप्दै गएको आरोप लगाए। दैनिक उपभोगदेखि शिक्षा र स्वास्थ्यसम्मका क्षेत्रमा समेत कर लगाएर नागरिक सर्वोच्चताको कुरा गर्नु विरोधाभासपूर्ण भएको उनको टिप्पणी थियो।

‘तीन महिना पहिले चुनावभन्दा अगाडि विदेशमा रहेका युवालाई फर्काउँछौँ भनियो, तर अहिले पनि युवाहरू विदेश गइरहेका छन्। देशमा सुशासन हुन्छ भनियो, तर अवस्था उल्टो देखिएको छ,’ चौधरीले भने।

सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे पनि नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्न नसकेको उनले बताए। विद्यालयको शुल्क तिर्दा र अस्पतालमा औषधि किन्दासमेत कर तिर्नुपर्ने अवस्थाप्रति उनले प्रश्न उठाए।

चौधरीले कर तिर्ने नागरिकमाथि मात्र भार थप्नुको सट्टा करको दायरामा नआएका तथा कर छली गर्नेहरूलाई पनि सरकारले निगरानी गर्नुपर्ने बताए। ‘कर तिर्नेले तिरे कि तिरेनन्, त्यहाँ हेर्नुपर्छ,’ उनले भने।

किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाएको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए। गाउँमा किसानसँग प्रत्यक्ष भेटेर आफूले उनीहरूको समस्या बुझेको उल्लेख गर्दै चौधरीले चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गर्न बाध्य भए पनि त्यही धान बिचौलियामार्फत महँगो मूल्यमा उपभोक्तासम्म पुगिरहेको दाबी गरे।

किसानले सस्तोमा बिक्री गरेको धान व्यापारीले महँगोमा बिक्री गर्दा किसान र उपभोक्ता दुवै मारमा परेको उनको भनाइ थियो।

चौधरीले आफूहरू सरकारको विरोध गर्न मात्र अग्रगामी मोर्चामा आबद्ध नभएको पनि स्पष्ट पारे। देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको भन्दै उनले सरकारलाई नागरिकका वास्तविक समस्या समाधानतर्फ केन्द्रित हुन आग्रह गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय