बीरगन्ज,२५ साउन । पर्सा र बारामा खाना पकाउने एलपी ग्यासको अभाव अझै हट्न सकेको छैन । ग्यास लिन वीरगन्जका विभिन्न बिक्री केन्द्र तथा डिलरमा उपभोक्ताको लामो भीड लाग्ने गरेको छ । घण्टौँसम्म लाइन बसेपछि मात्रै सिलिन्डर पाउने अवस्था रहेको उपभोक्ताहरूले बताएका छन् ।
वीरगन्ज बजारमा मनोज, बारा, सुपर, नारायणी लगायतका कम्पनीका ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । यसअघि डिलरमार्फत घरघरमै ग्यास पुग्ने गरे पनि अहिले उपभोक्ता आफैं बिक्री केन्द्रमा पुगेर सिलिन्डर लिनुपर्ने अवस्था छ ।
ग्यासको अभाव बढेसँगै बजारमा कृत्रिम अभाव तथा कालोबजारी भइरहेको हुन सक्ने आशंका पनि गरिएको छ । स्थानीय प्रशासनले सम्भावित कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ । यद्यपि, कम्पनीबाट आपूर्ति भइरहेको दाबी गरिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।
ग्यास विक्रेता संघ पर्साका अध्यक्ष तथा मुक्तिनाथ सप्लायर्स एण्ड सन्सका सञ्चालक वीरेन्द्र साहले कम्पनीबाट ग्यासको आपूर्ति भइरहे पनि मागको तुलनामा आपूर्ति पर्याप्त हुन नसक्दा समस्या देखिएको बताए ।
उनका अनुसार पहिले एउटा खेपमा करिब ६० वटा भरिएका सिलिन्डर आउने गरेकामा अहिले ७० वटासम्म आउन थालेका छन् । तर आपूर्ति केही बढे पनि उपभोक्ताको माग अत्यधिक रहेकाले ग्यास बिक्रीको अवस्था असामान्य बनेको उनको भनाइ छ ।
“पहिलाभन्दा अहिले सप्लाई बढी भए पनि ग्यासको अभाव कायमै छ । ग्राहकहरूले घरमा ग्यास हुँदाहुँदै पनि सिलिन्डर स्टक गरेर राख्दा समस्या थपिएको हो,” साहले भने ।
साहका अनुसार पहिले एउटा खेपको ग्यास करिब दुई दिनसम्म बिक्री गर्न पुग्ने गरेको थियो । अहिले भने ग्यास बोकेको गाडी बिक्री केन्द्रमा आइपुग्नासाथ उपभोक्ताले सिलिन्डर लैजाने गरेका छन् । यसले माग र आपूर्तिबीचको असन्तुलन झनै बढेको देखिन्छ ।
ग्यासको अभाव कम गर्न साहले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिन्डर खरिद गर्न आग्रह गरेका छन् । एकपटक ग्यास खरिद गरेपछि कम्तीमा १० दिनसम्म अर्को सिलिन्डर नलिने व्यवस्था लागू गर्न सके सबै उपभोक्तालाई सहज हुने उनको भनाइ छ ।
घरमा ग्यास मौज्दात हुँदाहुँदै पुनः सिलिन्डर खरिद गर्ने प्रवृत्तिले वास्तविक रूपमा ग्यास आवश्यक परेका उपभोक्ता समस्यामा परेको उनले बताए ।
“आवश्यकताअनुसार मात्रै ग्यास खरिद गरौँ, अरू उपभोक्ताले पनि पाउने अवसर दिऔँ,” साहले आग्रह गरे ।
यसैबीच, ग्यास अभावको मौका छोपेर कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन थप प्रभावकारी बनाउनुपर्ने माग उठेको छ । कम्पनीबाट आपूर्ति भइरहेको दाबी र उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्थाबीचको अन्तरले ग्यासको वितरण प्रणालीमाथि समेत प्रश्न उठाएको छ ।
आपूर्ति बढाउनुका साथै अनावश्यक भण्डारण, वितरणमा देखिएको असन्तुलन र सम्भावित कालोबजारीमाथि प्रभावकारी निगरानी गर्न सके मात्रै पर्सा–बाराका उपभोक्ताले ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्ने देखिन्छ ।





