रौतहट,२५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवा गाउँनजिकै विद्युत् सर्ट भएर आगलागी हुँदा ९ वटा ग्यास सिलिन्डर पड्किएका छन् । आगलागीबाट करिब १८ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब ७ः१५ बजे दीपेन्द्र भक्त खरेलको घरमा इँटा उद्योगमा कार्यरत मजदुरका लागि ग्यास सिलिन्डर तथा अन्य सामग्री राखिएको स्थानमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
आगलागीपछि त्यहाँ राखिएका ग्यास सिलिन्डर पड्किँदा आगो थप फैलिएको थियो । आगलागीबाट घरमा रहेका घरायसी सामग्रीलगायत विभिन्न सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल परिचालन गरिएको थियो । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक राजेश खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा आगलागीबाट करिब १८ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनामा मानवीय क्षति भए/नभएकोबारे भने यकिन विवरण आउन बाँकी छ ।
प्रहरीले घटनाको थप अनुसन्धानसँगै आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।




