काठमाडौं,२५ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र विकास कुनै एक मन्त्रालय वा सरकारको एकल प्रयासबाट सम्भव नहुने बताएका छन् । उनले सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै मुलुकको आर्थिक सफलताको आधार भएको बताए ।
उनले आर्थिक विकासका लागि ‘होल अफ द नेशन’ अर्थात् एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेरेको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटले सरकारको प्राथमिकता कर सङ्कलनमा मात्रै सीमित नरहेको स्पष्ट पारे । उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको उद्देश्य रहेको उनले बताए ।
उनका अनुसार उद्योग तथा व्यवसायबाट हुने नाफा पुनरलगानीमा परिणत हुँदा रोजगारी र आम्दानी सिर्जना हुन्छ र त्यसबाट राज्यको राजस्वसमेत बढ्छ । त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उनले बताए ।
वैध रूपमा गरिएको लगानी र त्यसबाट प्राप्त मुनाफाको सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै वाग्लेले लगानीकर्ताले नीतिगत स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले उद्यमीलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न तथा नयाँ प्रविधि भित्र्याएर रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरे । लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले विगतका समस्या सुधार गर्दै विभिन्न छुट तथा सुविधा घोषणा गरेको पनि उनले स्मरण गराए ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार तथा कानुनी प्रक्रियामा व्यवसायीले भोगिरहेका समस्या र अवरोधबारे सुझाव मागेका थिए ।
सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने प्रमुख सुधार पहिचान गरी त्यसलाई समाधान गर्न ठोस कार्ययोजना बनाएर अघि बढ्ने उनले जानकारी दिए ।




