spot_img

सहमति जुट्न नसक्दा एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्र मेहताको शव

spot_img
spot_img

काठमाडौं,२५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिन्दु–मुस्लिम झडपमा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।

२२ वर्षीय मेहताको साउन १९ गते उपचारका क्रममा मृत्यु भएको थियो । तर, मृतक परिवार र सरकारबीच सहमति जुट्न नसक्दा हालसम्म शवको पोस्टमार्टम हुन सकेको छैन ।

मृतक परिवारले पोस्टमार्टम गर्नुअघि नै रविन्द्रलाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै आएको छ । तर, शहीद घोषणा गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल सहमति हुन नसकेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका अनुसार गृहमन्त्री शहीद घोषणा गर्ने विषयमा सकारात्मक भए पनि त्यसअघि पोस्टमार्टम गर्नुपर्ने सरकारको धारणा छ ।

रविन्द्रको शरीरमा गोली लागेको छ । मृतक परिवारले उक्त गोलीको ब्यालिस्टिक परीक्षण पहिले गर्नुपर्ने माग राखेको छ । गृह प्रशासनले भने पोस्टमार्टमपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढाउने बताउँदै आएको छ ।

रविन्द्रको परिवारसँग छलफल गर्न गृहमन्त्री गुरुङ साउन १९ गते शिक्षण अस्पताल पुगेका थिए । त्यसपछि गृह मन्त्रालयमा समेत परिवारका सदस्यसँग छलफल गरिएको थियो । पटक–पटक वार्ता भए पनि परिवारले शहीद घोषणा र घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको सुनसरी–२ का सांसद लालविक्रम थापाले बताए ।

सरकारले घटनामा मृत्यु भएका सबैलाई एकैपटक शहीद घोषणा गर्ने प्रस्ताव राखेको भए पनि रविन्द्रका परिवारले भने पहिले उनलाई शहीद घोषणा गर्नुपर्ने अडान लिएको सांसद थापाको भनाइ छ ।

पछिल्लो समय सुनसरी र सिराहामा भएका झडप तथा दंगामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्जका रविन्द्र मेहतासहित ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिराहाको औरही गाउँपालिकाका गणेश यादव रहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय