काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले खोलानालाबाट गिट्टी, बालुवा तथा ढुंगाको अवैध उत्खनन र तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले राज्यलाई कर नतिरी ठूलो परिमाणमा नदीजन्य पदार्थ तस्करी भइरहेको दाबी गरिन् । उनले बर्खायाममा नदीबाट गिट्टी र बालुवा निकाल्न रोक लगाउने वर्तमान कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन आवश्यक संशोधन गर्न सरकारसँग माग गरिन् ।
उनका अनुसार रातको समयमा लाखौँदेखि करोडौँ रुपैयाँ बराबरको बालुवा तथा गिट्टी राज्यलाई राजस्व नतिरी तस्करी हुने गरेको छ । यस्तो समस्या आफ्नो जिल्ला धादिङसहित देशका अधिकांश नदी तथा खोलामा देखिएको उनले बताइन् ।
“बर्खे महिनामा कानुनअनुसार खोलाबाट गिट्टी र बालुवा निकाल्न निषेध गरिएको छ । तर तस्करहरूले एकै रातमा लाखौँ, करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन्,” उनले भनिन् ।
तामाङले ढुंगा, गिट्टी र बालुवा उत्खनन नै गर्न नहुने आफ्नो धारणा नरहेको स्पष्ट पारिन् । प्राकृतिक स्रोतको उचित व्यवस्थापन र नियमनका लागि कानुन बाधक बन्न नहुने उनको भनाइ थियो ।
उनले विद्यमान मापदण्ड र कानुनी व्यवस्थालाई व्यवहारिक बनाउँदै नदीजन्य पदार्थको व्यवस्थित उत्खनन, व्यवस्थापन र राजस्व सङ्कलन सुनिश्चित गर्न तत्काल आवश्यक कानुनी संशोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।




