काठमाडौं,२५ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिएपछि पनि किसानले सहज रूपमा रासायनिक मल नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत मधेससहित देशका विभिन्न क्षेत्रमा देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गरी किसानलाई पर्याप्त मल उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।
सरकारले समयमै पर्याप्त रासायनिक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको उनले उल्लेख गरेका छन् । उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो बढिरहेको उनको भनाइ छ ।
मल आयातको प्रक्रिया जटिल हुने भएकाले त्यसका लागि समयमै तयारी आवश्यक पर्ने प्रचण्डले बताएका छन् । आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मलको आवश्यकता र आयात प्रक्रियाको संवेदनशीलतालाई ध्यानमा राखेर समयमै आपूर्ति तथा वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनले स्मरण गरेका छन् ।
उनले तत्काल मल आयातको प्रक्रिया अघि बढाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् । आगामी वर्षका लागि समेत समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिँदै उनले मलको कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न माग गरेका छन् ।
किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा रासायनिक मल वितरणको व्यवस्था मिलाउन पनि प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् ।




