spot_img

हामी केपी ओलीका कार्यकर्ता होइनौँ, प्रश्न गर्न जनताले पठाएका हुन्’ : ज्ञानेन्द्र शाही

spot_img
spot_img

काठमाडौं,२५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको आलोचना वा प्रश्न गर्दा प्रतिपक्षी दलका सांसदलाई ‘केपी ओलीका कार्यकर्ता’ भन्ने गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले प्रतिपक्षले सरकारसँग प्रश्न गर्नु आफ्नो संवैधानिक र राजनीतिक दायित्व भएको बताए । जनताले आफूहरूलाई सरकारका कामकारबाहीबारे प्रश्न उठाउन निर्वाचित गरेर पठाएको उनको भनाइ थियो ।

“प्रतिपक्षले प्रश्न गर्नेबित्तिकै दुईवटा जवाफ आउँछन्– एउटा केपी ओलीका कार्यकर्ता र अर्को सरकारलाई काम गर्न दिएन,” शाहीले भने, “हामी केपी ओलीका कार्यकर्ता होइनौँ । जनताले प्रश्न गर्न पठाएका हुन्, त्यसैले हामीले प्रश्न गर्न पाउनुपर्छ ।”

उनले आफूले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पनि संसद्मा बसेर सरकारसँग निरन्तर प्रश्न गरेको स्मरण गरे । तत्कालीन सरकारसँग प्रश्न उठाउने सांसदहरूमध्ये आफू पनि एक रहेको उनले बताए ।

शाहीले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफू र आफ्नो परिवारको चरित्र हत्या गर्ने प्रयास भएको आरोपसमेत लगाए । आफूले दिएको अभिव्यक्ति संवैधानिक आयोग तथा मानव अधिकार आयोगका प्रतिवेदनमा आधारित रहेको भन्दै त्यसमा अप्रमाणित कुरा नरहेको उनको दाबी थियो ।

उनले विगतमा सडकबाट समेत सरकारका गलत कामकारबाहीको विरोध गर्दै आएको बताए । प्रचण्ड र ओली नेतृत्वको तत्कालीन नेकपा सरकारको आलोचना गरेकै कारण आफू पटक–पटक आक्रमणमा परेको दाबी गर्दै शाहीले आलोचना र प्रश्नलाई राजनीतिक प्रतिशोधको विषय बनाउन नहुने बताए ।

सरकार सत्तामा भएकै कारण त्यसका कामकारबाहीमाथि प्रश्न उठाउन नपाइने भन्ने तर्क उचित नभएको बताउँदै उनले प्रतिपक्षले जनताको आवाज संसद्मा उठाउने अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय