काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेस प्रदेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने तयारी भएको छ ।
यस विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच मन्त्रालयमा छलफल भएको हो । छलफलमा दाइजोविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आवश्यक रणनीति, सहकार्य तथा जनचेतनामूलक कार्यक्रमबारे विचारविमर्श गरिएको जनाइएको छ ।
दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिएको गम्भीर सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।
मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा अभियान बन्नुपर्ने बताइन् । उनले परिवार र समुदायबाटै दाइजोविरुद्ध चेतना फैलाउँदै युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिइन् ।
उनले यसअघि प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीसँग पनि दाइजो प्रथा अन्त्य तथा ‘दाइजोमुक्त नेपाल’ अभियानका विषयमा छलफल भएको जानकारी दिइन् । आगामी दिनमा अन्य सरोकारवालासँग समेत परामर्श गरी प्राप्त सुझावका आधारमा अभियानलाई अघि बढाइने उनको भनाइ छ ।
छलफलका क्रममा मधेसी आयोगले मधेसमा महिला तथा बालबालिकाले भोगिरहेका विभिन्न समस्याबारे समेत सरकारको ध्यानाकर्षण गराएको थियो । बालविवाह, घरेलु तथा लैङ्गिक हिंसा, शिक्षा र स्वास्थ्यमा पहुँचको कमी, बोक्सीको आरोपमा हुने हिंसा, बालश्रम, मानव बेचबिखन तथा नागरिकता र पहिचानसम्बन्धी समस्या प्रमुख रूपमा उठाइएको थियो ।
दाइजो प्रथा अन्त्यका लागि ‘दाइजो नलिने, नदिने’ संस्कारको विकास, समुदायस्तरमा निरन्तर जनचेतना विस्तार तथा युवाको नेतृत्व र सहभागिता बढाउनुपर्नेमा पनि छलफल भएको छ ।
संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै मधेसबाट अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने मन्त्रालयको तयारी छ ।




