काठमाडौं,२६ साउन । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भ्रष्टाचार, बेथिति र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई कडा सजाय दिने कानुन बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले विद्यमान कानुनी प्रक्रिया जटिल हुनुका साथै प्रभाव र सेटिङका कारण अपराधमा संलग्न व्यक्ति कारबाहीबाट उम्कने गरेको आरोप लगाए।
उनले अपराधीलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने र पुनः प्रभाव वा सेटिङका आधारमा छाड्ने प्रवृत्तिले देशमा दण्डहीनता बढाएको बताए। यस्तो प्रवृत्ति रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
राईले अपराधीलाई सुधार्ने नाममा मात्र अनुसन्धान र सोधपुछ गरेर समस्या समाधान नहुने भन्दै कडा सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले सार्वजनिक रूपमा कोर्रा हान्ने व्यवस्थासहितको कानुन बनाउनसमेत संसद्मा प्रस्ताव गरे।
बैठकमा उनले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीमाथि समेत प्रश्न उठाए। प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत भएको उनको आरोप थियो।
देशमा सुरक्षा, न्याय र सेवा प्रवाहको अवस्था कमजोर रहेको दाबी गर्दै राईले नागरिक मात्र नभई सांसदहरूले समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको बताए।




