spot_img

नारायणी अस्पतालमा एन्टी स्नेक भेनम सकियो, सर्पदंशका बिरामी अन्यत्र पठाइँदै

spot_img
spot_img

वीरगन्ज,२६ साउन । वीरगन्जस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीलाई दिइने एन्टी स्नेक भेनम (एएसभी) इन्जेक्सनको मौज्दात सकिएपछि उपचार प्रभावित भएको छ। अस्पतालमा सोमबारदेखि नै एएसभी उपलब्ध नभएपछि सर्पले टोकेर आउने बिरामीलाई अन्य अस्पताल तथा उपचार केन्द्रमा पठाउन थालिएको छ।

अस्पताल प्रशासनले सोमबार सूचना जारी गर्दै एएसभी इन्जेक्सनको मौज्दात सकिएको र सम्बन्धित कार्यालयबाट आपूर्ति हुन नसकेको जनाएको छ। साथै, उपचारमा परेको असुविधाप्रति बिरामी तथा आफन्तसँग क्षमासमेत मागेको छ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलाद प्रसाद साहका अनुसार अस्पतालमा दैनिक औसत ७ देखि ८ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। पर्सासहित बारा, रौतहट र सर्लाहीबाट समेत बिरामी आउने भएकाले एएसभी अभावले समस्या थपिएको उनले बताए।

अस्पतालमा भेनमको मौज्दात घट्दै गएपछि यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको निर्देशनमा ठोरी, निजगढ, कौल्हबी र सर्लाहीको नवलपुरलगायतका सर्पदंश उपचार केन्द्रबाट एएसभी ल्याएर उपचार सञ्चालन गरिएको थियो।

साहका अनुसार एएसभीको मौज्दात सकिन लागेको जानकारी गराउन उनी साउन ७ गते नै जनकपुरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पुगेका थिए। तर, त्यसबेला केन्द्रमा समेत स्टक नभएको भन्दै उनलाई फर्काइएको थियो।

गत आइतबार पुनः फोनमार्फत जानकारी लिँदा पनि एएसभी आइपुगेको छैन भन्ने जवाफ पाएको उनले बताए। अब बुधबार पुनः प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग समन्वय गरी एएसभी ल्याउने प्रयास गरिने उनको भनाइ छ।

एएसभी अभावका कारण सर्पदंशजस्तो आकस्मिक अवस्थामा बिरामीलाई तत्काल उपचारका लागि अन्यत्र पठाउनुपर्ने अवस्था आएपछि बिरामी तथा आफन्त थप समस्यामा परेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय